• १९ मंसिर २०८०, मंगलवार
  •      Tue Dec 5 2023
Logo

अन्तर कलेजस्तरीय फुटसल प्रतियोगिता हुने



सामाखुशीस्थित नवोदित कलेजको आयोजनामा अन्तर कलेजस्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । विभिन्न खेलकूद गतिविधि सञ्चालन गर्दै आएको उक्त कलेजले साउन १६ र १७ गते उपत्यकाका विभिन्न कलेज सहभागी गराई फुटसल प्रतियोगिता गर्न लागेको हो ।

कलेजले मंगलबार पत्रकार सम्मेलन गरी पहिलोपटक अन्तरकलेजस्तरीय फुटसल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । कलेजका प्राचार्य राजेन्द्र अधिकारीले विद्यार्थीलाई खेलकूद क्षेत्रमा आकर्षण गर्नका लागि प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिए । प्रतियोगितामा उपत्यकाका न्यू मिलेनियम, टाइम्स, इन्साइट भिजन, साउथ वेस्टर्न, आशिर्वाद, हेराल्ड, एन्जेल हार्ट, लक्षशीला, ऋत, रेडन, पासाङ ल्हामु, सेन्ट्रल स्टेटलगायत ३० भन्दा बढी कलेजको सहभागिता रहने कलेजका सह–प्राचार्य जीबी अधिकारीले जानकारी दिए ।

सामाखुशी फुटसलमा आयोजना हुने उक्त प्रतियोगितामा प्रथम हुने कलेजलाई रु ६१ हजार, दोस्रोलाई रु ३५ हजार र उत्कृष्ट खेलाडीलाई रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी कलेजले रु छ हजार टिम दर्ता शुल्क बुझाउनु पर्नेछ । खेलमा २०७५ सालको एसइई परीक्षा उत्तीर्ण, कक्षा १२ मा नियमित अध्ययन गर्ने र भर्खरै १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीले भाग लिन पाउने प्राचार्य अधिकारीले बताए ।