• १२ जेष्ठ २०८१, शनिबार
  •      Sat May 25 2024
Logo

‘जिउलोमा खेती गर्नुभन्दा पाटनमा यार्सा टिप्न सहज’



जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलोमा मार्सी धानको खेती घट्दै गइरहेको छ । विश्वको उच्च स्थानमा कालीमार्सी धान फल्ने छुमचौर जिउलोमा अहिले मार्सी धानखेती विस्तारै घटेको पातारासी गाउँपालिका–३ का स्थानीयवासी मुनबहादुर एडीले जानकारी दिनुभयो । यहाँका कतिपय किसानले जौँ, गहुँ, मकै, आलु रोप्ने गर्छन् । कतिपयले खेत बाँझै राख्ने गरेका छन् । खेतमा कालीमार्सी धान रोप्दा रोग–कीरा लाग्ने र बाली निकै कम हुने भएपछि कालीमार्सीको खेती गर्न छाडिएको जनाइएको छ । उहाँले भन्नुभयो, “धानखेतीका लागि प्रशस्त पानी छ । सिँचाइ कुला पनि खेतसम्मै पुगेका छन् । तर महिनौँदेखि मेहनत गरेर रोपिएको कालीमार्सी धान घर भित्र्याउने समयमा रोग–कीराको सङ्क्रमण हुने र असिना पानीले झारिने गर्दा यहाँका किसान कालीमार्सी धान रोप्ने चासो नदिएका हौँ ।” पछिल्लो समय उत्पादनमा गिरावट आउन थालेपछि कालीमार्सी खेती गर्न छाडिएको छ । कालीमार्सी धानको आफ्नै पहिचान छ । तर पहिचानले खान लाउन पुग्दैन ।

धान लगाउन पर्याप्त धान उत्पादन पनि हुन जरुरी रहेको पातारासी–२ का ६२ वर्षीय गोर्खे बुढाले बताउनुभयो । समुद्री सतहबाट दुई हजार आठ सय ५० मिटरको उचाइ रहेको छुमचौर जिउलोमा मार्सी धानखेती हुने गरेको पातारासी गाउँपालिका कृषि शाखाका प्रमुख रुपक बुढाले जानकारी दिनुभयो । कालीमार्सी धानखेती संरक्षण गर्नका लागि पालिकाले आवश्यक सहयोग गरेको छ । किसानलाई उत्पादनमूलक क्षेत्रमा जोड्नका लागि विभिन्न क्षमता अभिवृद्धिका तालिमसमेत दिएको छ । किसानले उत्पादन गरेको धान बजारीकरण हुनसकेको छैन । केही किसानले खेतमा धानको सट्टा अर्को बाली लगाउँदै आएका छन् । यो वर्षबाट पूरै छुमचौर जिउलोमा धानखेती गरिने कृषि शाखाका प्रमुख बुढाको भनाइ छ । कृषि शाखाले पनि सो जिउलोको धानखेतीमा लगानी गरेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । किसानका अनुसार धान उब्जनी कम हुन थालेपछि धान सिजनमा यहाँका अधिकांश बालबालिका र युवायुवती यार्सा सङ्कलनका लागि पाटनतिर जाने गरेका छन् । जिउलोमा धान पाक्न आठ महिना लाग्छ तर त्यसको सट्टामा पाटनमा यार्सा टिप्न जाँदा एक महिनामै तेब्बर आम्दानी हुन्छ । यार्सा टिप्न गएपछि पाटनमा एक घर परिवारले एक महिनामा न्यूनतम रु ५० हजारदेखि एक लाखसम्म कमाउँछन् ।

एक महिनाको कमाइले वर्षभरको रोजीरोटी सहजै व्यवस्था हुने देखिएपछि जिउलोमा मेहनत गर्नुभन्दा पाटनमा गएर यार्सा टिप्नु नै सहज हुने पातारासीका किसान बताउँछन् । कृषि अनुसन्धान केन्द्र जुम्लाले पनि कालीमार्सी धान निकै पुरानो भएकाले रोग प्रतिरोधी मार्सी धानको अनुसन्धान भइरहेको जनाएको छ । जिल्लाका आठवटै स्थानीय तहमा यहीँ जेठ महिनाको पहिलो सातादेखि खेतमा मार्सी धानको रोपाइँ हुने गरेको छ । यो याममा खेतमा किसानले जाँैखेती गरेका छन् ।