• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

१२१ घरलाई निःशुल्क चुलो र सिलिन्डर



डोल्पाका एक समाजसेले व्यक्तिगत खर्चमा गाउँलाई नै ग्यास चुलो र सिलिन्डर बाँड्नुभएको छ । ठूलीभेरी नगरपालिका–३ दुनैमा बस्दै आउनुभएका युवा मन बुढाले वडा नं ४ तिप्ला गाउँका १२१ घरधुरीलाई ग्यास चुल्हो र सिलिन्डर वितरण गर्नुभएको हो । व्यक्तिगत नौ लाख ६८ हजार खर्च गरेर नेपालगञ्जबाट सिलिन्डर र चुल्हो ल्याएर वितरण गरेको स्थानीयवासी राजबहादुर बुढाले बताउनुभयो ।

सदरमुकाम दुनैस्थित सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका बुढाले जिल्लामै नमूना काम गर्नुभएको बुढाको भनाइ छ । दुर्गम क्षेत्रका महिलाको व्यस्त जीवनशैलीलाई लक्षित गर्दै केही हदसम्म भए पनि राहत मिलोस् भन्ने उद्देश्यले व्यक्तिगतरुपमा चुल्होसहितको सिलिन्डर वितरण गरिएको युवा बुढाले बताउनुभयो । घरव्यवहारले गाँजिएका महिलालाई साँझपख खेतबारीबाट फर्केर आइसकेपछि अँगेना चुल्होमा कष्टका साथ खान पकाउनुपर्ने अवस्था देखेर वितरण गरेको उहाँको भनाइ छ ।

त्यतिमात्र नभई प्रत्येक दिन चाहिने दाउराको स्रोत जङ्गल नै भएकाले स्थानीयवासीको जङ्गलप्रतिको परनिर्भता घटाई वन विनाश रोक्न पनि यो कदम चालिएको बुढाले बताउनुभयो । “वनजङ्गल जोगाउन विद्युतीय चुल्हो, ग्यास चुल्होलगायत इन्धनको वैकल्पिक स्रोत खोज्न आवश्यक छ”, उहाँको भनाइ छ । ग्यासको प्रयोगबाट समय पनि बचत हुने र स्वास्थ्यलाई पनि कष्ट नहुने उनीहरुको भनाइ छ ।

  • रासस