• ९ श्रावण २०८१, बुधबार
  •      Wed Jul 24 2024
Logo

दलित कर्मचारी छैनन् गाउँपालिकामा



हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा दलित एकता स्वतन्त्र सञ्जालको बैठक सम्पन्न भएको छ । सर्केगाड गाउँपालिका–१ देखि वडा नं ८ सम्म रहेका दलित समुदायका व्यक्तिले उक्त भेलामा उपस्थित भएर आफ्नो अधिकारका विषयमा सरोकारवाला निकायलाई पूर्ण कायान्वय गराउने प्रतिबद्धता जनाएका छन् ।

सम्पूर्ण दलितले आफ्नो हकअधिकारको संरक्षण गर्न र सरोकारवालालाई नेपालको संविधानले दिएको अधिकारको पूर्ण कार्यान्वयन गराउन गाउँपालिकास्तरीय आम भेलाको आयोजना गरेको वडा नं ३ का गम्भीर नेपालीले जानकारी दिनुभयो । प्रत्येक बस्तीबाट दलित समुदायका घरको एक व्यक्ति उपस्थित भएको वडा नं ७ का नन्दलाल विकले बताउनुभयो । उहाँले भन्नुभयो, “यो विशाल ¥याली कुनै राजनीतिक आस्थाका आधारमा नभएर दलितका समग्र अधिकार संरक्षण र उपभोगका लागि सरोकारवालालाई ध्यानाकर्षण गराउन र दलितलाई जागरण गराउनका लागि गरिएको हो ।” यस्तै सोही गाउँपालिका वडा नं ४ का वडा सदस्य धन सुनारले दलितका अधिकार नेपालको संविधान र कानूनमा मात्र सीमित रहेको तर गाउँठाउँमा यो पटक्कै लागू नभएको बताउनुभयो ।

गाउँपालिकामा अहिलेसम्म एक पनि दलित कर्मचारी छैनन् । “सम्पूर्ण क्षेत्रको सहभागिताको सुनिश्चितता गराउनका लागि हामीले लगभग ३०० जना दलितको उपस्थिति गराएर यो आमभेला गरेका छौँ”, उहाँले भन्नुभयो । भेलापछि धनलाल विकको संयोजकत्वमा २५ सदस्यीय कार्य समिति गठन गरिएको छ । यसैगरी १९ सदस्यीय सल्लाहकार समिति, १७ सदस्यीय अनुगमन समिति र आठवटै वडामा वडा समितिसमेत गठन गरिएको छ ।

  • रासस