• ९ श्रावण २०८१, बुधबार
  •      Wed Jul 24 2024
Logo

बुटवल उपमहानगरपालिकामा इकाइ कार्यालय स्थापना



भूमिसम्बन्धी समस्या समाधान आयोगसँग कार्यसम्झौता भएसँगै बुटवल उपमहानगरपालिकाले इकाइ कार्यालय स्थापना गरेको छ । भूमिसम्बन्धी समस्या समाधान आयोग र बुटवल उपमहानगरपालिकाबीच आजै कार्यसम्झौता भएको थियो ।

भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष देवी ज्ञवालीले आज बुटवल उपमहानगरपालिकाभित्र आयोगको उपमहानगरस्तरीय लगत सङ्कलन इकाइ कार्यालयको उद्घाटन गर्नुभयो । सो अवसरमा अध्यक्ष ज्ञवालीले भूमिसम्बन्धी समस्यालाई अब प्रभावकारी रुपमै समाधान गर्ने गरी आयोग काममा खटिएको भन्दै समन्वय र सहकार्य गर्न पालिकासँग आग्रह गर्नुभयो । बुटवलको तदारुकता, तयारी र पहिल्यै लगत सङ्कलन भइसकेकाले अब पूर्जा वितरणको पहिलो काम पनि बुटवलबाटै शुरु गर्न सकिने सम्भावना रहेको अध्यक्ष ज्ञवालीको भनाइ थियो । लुम्बिनी प्रदेशसभाका सांसद तथा सुकुम्बासी आयोगका पूर्वजिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठले सुकुम्बासी समस्याको दीर्घकालीन पहलका लागि बुटवलमा धेरै काम अगाडि बढेको बताउनुभयो । उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जनप्रतिनिधि चुनिएसँगैपछि कार्यपालिकाको पहिलो बैठकबाटै अव्यवस्थित बसोबासी तथा सार्वजनिक जग्गाको लगत सङ्कलन गर्न कार्यदल गठन गर्ने निर्णय गरेर लगत सङ्कलन गरी नापजाँचका काम भइरहेको जानकारी गराउनुभयो । बुटवल उपमहानगरमा स्थापना भएको इकाइमा वरिष्ठ अधिकृत विजयदेव भुर्तेल, अमिन त्रिदेव बुढाथोकी र रामप्रसाद पन्थीलाई जिम्मेवारी दिइएको छ । तीनजना रहेको इकाइ कार्यालयलाई भूमिसम्बन्धी समस्या समाधान आयोगको ढाँचामा काम गर्ने गरी जिम्मेवारी तोकिएको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताउनुभयो ।

बुटवलको सबैभन्दा धेरै अव्यवस्थित बस्ती तथा सुकुम्बासी रहेको वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीको संयोजकत्वमा उपमहानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण गर्ने र अव्यवस्थित बसोबासीको यथार्थ विवरण सङ्कलन गर्ने उद्देश्यले कार्यपालिका बैठकबाटै कार्यदल गठन गरेको थियो । कार्यदलले १६ हजार ५०० भन्दा धेरै अव्यवस्थित बस्तीको लगत सङ्कलन गरेको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

 

  • रासस