• १७ मंसिर २०८०, आईतवार
  •      Sun Dec 3 2023
Logo

पार्टी महाधिवेशन सर्न सक्छ : नेपाली काँग्रेस सहमहामन्त्री डा महत



दाङ, नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको फागुनमा गर्ने भनिएको महाधिवेशन केही समय सर्न सक्ने बताउनुभएको छ ।

काँग्रेस दाङले आज घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई संम्बोधन गर्दै उहाँले कोरोना भाइरसको जोखिमका कारण बन्दाबन्दी हुँदा चारपाँच महिना पार्टीले तयारी गर्न नसकेकाले फागुनमै महाधिवेशन गर्न समस्या देखिएको स्पष्ट गर्नुभयो । ‘‘अहिलेसम्म क्रियाशील सदस्यता टुङ्गिएको छैन, यो टुङ्ग्याउन माघ महिनासम्म लाग्न सक्छ’’, डा महतले भन्नुभयो । माघसम्म जिल्लाबाट क्रियाशील सदस्यता टुङ्ग्याएर पठाइएपछि केन्द्रले चैतसम्म छानबिन गरेर टुङ्गो लगाएपछि आगामी भदौ महिनासम्म महाधिवेशन गर्न सकिने उहाँको भनाइ थियो । फागुनमै महाधिवेशन गर्न असंभव रहेको सबै नेताहरुले महसुस गरेको जनाउँदै डा महतले छिट्टै केन्द्रीय समितिको बैठकले महाधिवेशनका लागि नयाँ मिति तय गर्नेसमेत जानकारी दिनुभयो ।

 

  • रासस