• २९ असार २०८१, शुक्रबार
  •      Fri Jul 12 2024
Logo

हुम्लाको चेला सामुदायिक वनमा भीषण आगलागी



हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसो भीषण आगलागी भएको छ । चेला वनबाट शुरु भएको आगो सिङमच्छिउ सामुदायिक वन हुँदै बल्देजुडासम्म पुगेको त्यहाँका स्थानीयवासीले बताएका छन् ।

बिहीबार दिउँसो १२ बजेतिर लागेको आगो प्रहरी र स्थानीयवासीको सहयोगमा साँझतिर नियन्त्रणमा आएको थियो । खुक्खा मौसम शुरु भएसँगै हुम्लामा आगलागीका घटना शुरु हुन थालेका छन् । उक्त सामुदायिक वन २०५२ सालदेखि संरक्षण गरेर राखेको सिमकोट–४ का वडाध्यक्ष छविचन्द्र लामाले बताउनुभयो । सामुदायिक वनमा आगलागी हुँदा हजारौँको सङ्ख्यामा रहेका विभिन्न जातका वनस्पतीसँगै वनमा रहेका चराचुरुङगी, जङ्गली जनावर समेत केही जलेर नष्ट भएको वडाध्यक्ष लामाले बताउनुभयो । लामो समयसम्म जोगाएर राखेको वन क्षेत्रमा लाखौँका सल्लो, धुपी, उत्तिसलगायत जडिबुटीका बिरुवा जलेर नष्ट भएका छन् ।

 

  • रासस