• २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

विप्लव समूहका दुई कार्यकर्ता हतियार तथा विस्फोटक पदार्थसहित पक्राउ



नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्ता हतियार तथा विस्फोटक पदार्थसहित पक्राउ परेका छन्। बुधवार मोरङ प्रहरीले विप्लव माओवादीका कम्पनी कमिशनरसहित दुई कार्यकर्ता लाई मिक्लाजुङ गाउँपालिका-१ स्थित बिजुलीप्रसाद तिम्सिनाको खाली घरबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका-६ बस्ने १८ वर्षीय विज्ञान राई र सप्तरी सुरुङ्गा नगरपालिका-२ का ३२ वर्षीय प्रतिक भन्ने काशीनाथ घिमिरे छन्। उनीहरूले हातहतियार देखाएर स्थानीयसँग चन्दा असुल गरिरहेका कारण प्रहरीले खोजी गरिरहेको थियो।

प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार उनीहरूको साथबाट एक थान भरुवा बन्दुक, सोको गोली, हाई एक्सप्लोसिप विस्फोटक पदार्थ जिलेटिन तीन केसी, सुतली बम दुई थान, सकेट बम १ थान, टुकी बम १ थान, इलेक्ट्रिक डेटोनेटरलगायत बम विस्फोटमा प्रयोग हुने सामग्रीहरू बरामद भएको हो ।