• ९ श्रावण २०८१, बुधबार
  •      Wed Jul 24 2024
Logo

असिनापीडित किसानलाई राहत



बागलुङको काठेखोला गाउँपालिकाले असिनापानीले अन्नबालीमा क्षति पुगेका किसानलाई विभिन्न सङ्घसंस्थाको सहयोगमा राहत उपलब्ध गराएको छ । गत वैशाख ८ गतेको भीषण असिनाबाट पीडित १६५ परिवारका लागि दशैँको समयमा राहत दिइएको हो ।

काठेखोला गाउँपालिका–२ भीमापोखराका किसानले बारीमा लगाएको मैकै, आलु, तरकारीलगायतका अन्नबाली असिनाले नष्ट गरेको थियो । गाउँपालिकाका अध्यक्ष अमर थापाले गाउँपालिका, भीमापोखरा वडा कार्यालय, बिबाइसी, सिम्रिक कृषि सहकारी, प्रगति बहुद्देश्यीय सहकारी तथा स्थानीयवासीको आर्थिक सहयोगमा दुई लाख ५० हजार ४५५ रुपैया बराबरको खाद्यान्न राहत उपलव्ध गराइएको बताउनुभयो । किसानलाई गहुँको बीउ राहतस्वरुप उपलब्ध गराउने योजना भए पनि सिम क्षेत्रका लागि आवश्यक पर्ने गहुँको बीउ खरिदका लागि उपलब्ध नभएको वडाध्यक्ष विद्यापति शर्माले जानकारी दिनुभयो । राहत वितरण गर्दै गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले कोरोना महामारीको व्यवस्थापन र उपचारका लागि गाउँपालिकाले रकम खर्च गर्दा असिना पीडित किसानलाई आवश्यक मात्रामा सहयोग गर्न कठिन भएको उल्लेख गर्नुभयो । कोरोना रोकथामका लागि क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनमा धेरै बजेट खर्च भएको अवस्थामा हिउँदेबालीको बिक्रीबाट दशैँं खर्च जुटाउँदै आएका किसानको बाली नै मासिएको भन्दै गाउँपालिकाले दशैँंका खर्च हुने गरी राहत दिएको जनाइएको छ । रासस