• ९ श्रावण २०८१, बुधबार
  •      Wed Jul 24 2024
Logo

गोकर्ण राजनिकुञ्जको पर्खाल जीर्ण



सांकेतिक तस्वीर

नेपाल ट्रष्टको कार्यालय अन्तर्गत रहेको गोकर्ण राज निकुञ्जको उत्तरपूर्वी भेगको पर्खाल जीर्ण हुँदा त्यसमुनिको सडकबाट यात्रा गर्ने सवारी एवं स्थानीयवासी जोखिममा परेका छन् । निकुञ्जको करिब चार हजार रोपनी जग्गा घेरिएको आठ किमी पर्खालमध्ये धेरै भाग जीर्ण छ ।

उत्तरवाहिनीबाट दक्षिणढोकासम्मको पर्खालमुनि सडक छ । जहाँबाट दैनिक मोटरसाइकल, साइकल लगायत साना सवारी र स्थानीयवासी ओहोरदोहोर गर्छन् । जीर्ण पर्खाल ठाउँ ठाउँमा भत्किएको छ । भत्किएका केही स्थानमा काँडे तार लगाए पनि धेरै स्थानमा खुला छ । गोकर्णबाट जोरपाटी निस्कने सडक बिस्तार भइरहेकाले धेरै जसो साना सवारी गोकर्णेश्वर मन्दिरबाट माकालबारी निस्कने सानो सडकबाट हिँड्छन् । बिस्तार भइरहेको सडक वर्षामा हिलो र हिउँदमा धुलो हुने भएकाले वैकल्पिक सडक रोज्नु परेको मोटरसाइकलमा यात्रा गरिरहनुभएका दिलेन्द्र रायमाझी बताउनुहुन्छ । पर्खालभित्रतिर राजनिकुञ्जमा पक्की सडक छ । वैकल्पिक रुपमा उपयोग गर्ने गरी राज निकुञ्जभित्रको सडक खुलाउन गोकर्णेश्वर नगरपालिकाले पटकपटक माग गर्दै आएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ पर्खाल जीर्ण हुँदा साना सवारी जोखिममा परेको, भत्किएको स्थानबाट राज निकुञ्जका वन्यजन्तु आई खेतबारीमा लगाएको बाली नष्ट गर्ने गरेको बताउनुहुन्छ । नेपाल ट्रष्टको कार्यालयमा यस सम्बन्धी गुनासा धेरै पटक गरिएको उहाँले सुनाउनुभयो । वर्षौदेखि जीर्ण बनेको पर्खाल बनाउन कार्यालयको ध्यान नगएको स्थानीयवासी गुनासो गर्छन् । जीर्ण पर्खाल भत्किएकाले दाउरा, रुख लगायत चोर्न राज निकुञ्ज छिर्न पनि सहज भएको छ ।

नेपाल ट्रष्टको कार्यालयको एकाई कार्यालय दक्षिणढोकामा छ । जहाँबाट उत्तरवाहिनीतिर पुग्न समय लाग्ने भएकाले पनि निकुञ्जभित्र चोरी गर्न छिर्न चाहनेका लागि सहज भएको छ । एकाई कार्यालयका प्रमुख विष्णुबहादुर बस्नेत पर्खाल भत्किएको विषयमा केन्द्रीय कार्यालयमा वर्षौअघिदेखि नै जानकारी गराउँदै आएको बताउनुहुन्छ । पर्खाल बनाउन चालु आर्थिक वर्षमा ठेक्का भएकाले छिटै काम हुने पनि उहाँले सुनाउनुभयो ।रासस