• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

भारतीय सेनाध्यक्ष कात्तिक १९ मा नेपाल आउने



भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन दिवसीय भ्रमणका लागि यही कात्तिक १९ गते यहाँ आउने हुनुभएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उहाँ नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरवणेलाई नेपाल भ्रमणमका क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नु हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशको सैनिक प्रमुृखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा छ । रक्षामन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनरल नरवणेले औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । प्रधानसेनापति थापासँग जनरल नरवणेले औपचारिक भेटवार्ता र छलफल गर्नुहुनेछ ।
कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग जनरल नरवणेको अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता पौडेलले जानकारी दिनुभयो । भ्रमणका क्रममा जनरल नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पणका साथै जङ्गी अड्डामा सम्मान गारद निरीक्षण गर्नुहुनेछ । जनरल नरवणेको भ्रमण दल चार सदस्यीय रहने छ । रासस