• ९ श्रावण २०८१, बुधबार
  •      Wed Jul 24 2024
Logo

टुहुरा बालबालिकालाई नयाँ लुगा वितरण



फाइल तस्बिर

बारबर्दिया नगरपालिकाले टुहुरा बालबालिकालाई दशैँको अवसर पारेर नयाँ लुगा वितरण गरेको छ । नगरपालिकाले असहाय बालबालिका संरक्षण केन्द्र स्थापना गरी आफ्ना क्षेत्रका अभिभावकविहीन बालबालिकालाई खानबस्नसहित व्यवस्था गरी शिक्षा दिने व्यवस्था गरेका २३ जनालाई पोशाक वितरण गरेको हो । ती बालबालिका बारबर्दिया– ११ बेलभारस्थित सिम्हा माध्यमिक विद्यालयमा अध्ययनरत छन् ।

फाइल तस्बिर

नगरपालिका क्षेत्रका विद्यालय जाने उमेर पुगेका सबै बालबालिकालाई अनिवार्य विद्यालय भर्ना गर्ने अभियान चलाइए पनि अभिभावक गुमाएर बिचल्लीमा परेका र आफन्तकहाँ सहारामा बसेका बालबालिका स्याहार केन्द्रमा राखी पठनपाठनको व्यवस्था गरिएको छ । टुहुरा बालबालिकालाई नयाँ लुगा र आर्थिक सहयोग वितरण गर्दै बर्दिया क्षेत्र नं २ का संघीय संसद् सन्तबहादुर थारुले नगरपालिकाले टुहुरा बालबालिकालाई संरक्षण दिएर शिक्षा दिई कर्तव्य पूरा गरेको बताउनुभयो । असहाय बालबालिका संरक्षण केन्द्रलाई अझै व्यवस्थित गर्न आफ्नातर्फबाट प्राथमिकतामा राखी काम गरिने आश्वासन दिनुभयो ।

नगरपालिकाका प्रमुख दुर्गाबहादुर चौधरीले टुहुरा बालबालिकाका अभिभावक स्थानीय तहको सरकार नै भएको बताउनुभयो । बारबर्दिया– ६ बाट स्याहार केन्द्रमा बस्दै आएकी सिम्हा माविमा कक्षा ७ मा अध्ययनरत १४ वर्षीया सुनिता विकले आफूहरु अभिभावक गुमाएर बेसहारा रहेका अवस्थामा नगरपालिकाले संरक्षण केन्द्रमा राखी शिक्षाको व्यवस्था गरेर राम्रो काम गरेको प्रतिक्रिया दिनुभयो ।रासस