• १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

प्राविधिक शिक्षाले यसरी फेर्‍यो दाङका एक युवकको जीवन



दाङको गढवा गाउँपालिका वडा नं ७ चन्दनपुरका नरवहादुर चौधरीले प्रवेशिक परीक्षा उत्तीर्णपछि जिल्ला सदरमुकाम घोराहीमा रहेको पद्मोदय पब्लिक माध्यमिक विद्यालयबाट सिभिल इन्जिनियरको (१५महिने) कोर्ष पूरा गर्नुभयो । प्राविधिक शिक्षा पढ्नुअघि उहाँलाई विद्युतको बारेमा सामान्य जानकारी मात्र थियो । इलेक्ट्रिकल विषय पढेका चौधरीलाई अहिले कामले भ्याइनभ्याइ छ । गाउँघरका साथीहरु कोही विदेश छन् भने कोही स्वदेशमै श्रमिकको रुपमा काम गरिरहेका छन् ।

उहाँले प्राविधिक विषय नपढेको भए आफ्नो पनि श्रमिकका रुपमा कामको खोजीमा भौतारिनुपर्ने अवस्था हुन्थ्यो होला भन्नुहुन्छ । ‘‘बिद्युत वाइरिङको काम भएकाले कहिल्यै पनि खाली बस्नु परेको छैन’’ उहाँले भन्नुभयो ‘‘हातमा सीप हुने हो भने भोकै वस्नुपर्ने रहेनछ । ’’ उहाँ आठ जना परिवारको खर्च आफैँले पु¥याएको बताउनुहुन्छ । घोराही उपमहानगरपालिका १२ हापुर विजौरी निवासी मुक्त कमलरी कमला चौधरी सानै उमेरबाट नौ वर्ष कमलरी बनेर अर्काको घरमा काम गर्नुभयो । उहाँलाई कमलरीबाट महिला र बालबालिकाको क्षेत्रमा कामगर्ने एक संस्थाले उद्धार गरेर विद्यालय भर्ना गरिदियो । संस्थाकै सहयोगमा कमलाको प्रबेशिका उत्तीर्ण गरेपछि रुपन्देहीको जनता माध्यमिक विद्यालय अमुवाबाट जेटिए पी को १८ महिने पढाइ सकेर घोराहीस्थित छिमेकीको एग्रोभेटमा दुईवर्ष काम गर्नुभयो । यही अनुभवका आधारमा कमलाले घोराही उपमहानगरपालिका– १० नारायणपुरमा आफ्नै एग्रोभेट पसल छ । एग्रोभेटमा बीउबिजन, विषादी र च्याउको धेरै बिक्री हुने गरेको गरेको उहाँ बताउनुहुन्छ । उहाँले बीउ र विषादीका वारेमा गाउका किसानहरुलाई राम्रोसँग सिकाउन पाएको बताउनुहुन्छ । आफ्नो सिपको सदुपयोग गरेर आफू मालिक बन्दा खुशी लागेको र कमाई पनि राम्रै रहेको उहाँ बताउनुहुन्छ । कमलाले भन्नुभयो– ‘‘म त पूर्व कमलरी आर्थिक अवस्था राम्रो थिएन अरु क्षेत्रमा काम गर्नसक्ने अवस्था पनि थिएन । सीप सिकेर अहिले राम्रो भयो, चारजनाको परिवार पाल्न सकेकी छु ।” प्राविधिक शिक्षा लिए बेरोजगार बस्नु नपर्ने र आम्दानी पनि राम्रो हुने भएपछि अहिले यसतर्फ आकर्षण बढेको छ । प्राबिधिक शिक्षाले सीपसँगै स्वारोजगार पनि बन्न सकिने भएकोले युवायुवती यसप्रति आकर्षित भएका हुन् । घोराही उपमहानगरपालिका १५ निवासी शोभा आचार्य जेटिए पढेर आफ्नो जीवन बदलिएको बताउनुहुन्छ । उहाँले दाङ देउखुरीमा रहेको लालमटिया प्रविधिक विद्यालयको (मौरीघाट) मा विसं २०५३ मा पढ्नुभयो । आफूले प्राविधिक शिक्षा सकेर विसं २०५६ मा लोकसेवामा (भेटनरी जेटिए) मा नाम निकाल्दा सबैभन्दा ठूलो खुशीको क्षण भएको आचार्य बताउनुहुन्छ । पशुपालक किसान सल्लाह लिन आउदा रमाइलो लाग्ने गरेको उहाँको अनुभव छ ।

अहिले राज्यले एक गाउँ एक प्राविधिक भन्ने नारालाई अघि सारेको छ । घोराही उपमहानगरपालिका १७ गुलरिया निवासी कमल वलीले दाङको पद्मोदय नमुना माध्यमिक विद्यालयमा स्नातक तह इलेक्ट्रिकल इन्जीनियरिङ पढ्नु भयो । अहिले उहाँ आफूजस्तै इन्जिनियर उत्पादन गर्न लाग्नुभएको छ । आफूले पढेको विद्यालयमा सेवागर्न पाउदा उहाँ खुशी हुनुहुन्छ । विद्यालयकका प्राविधिक विषयका संयोजक भोला मिश्र प्राविधिक शिक्षा पढेका विद्यार्थी बेरोजगार वस्नु नपरेको बताउनुहुन्छ । आफुहरुले उत्पादन गरेको जनशक्ति आफ्नो सीप अनुसराको कुनै न कुनै काममा जोडिएर आयआर्जनमा लागेको मिश्र वताउनुहुन्छ । उहाँले विद्यार्थीले आफनो रुचि अनुसारको विषय पढ्ने भएकाले प्राविधिक विद्यालयमा विद्यार्थीको आकर्षण वढ्दो रहेको र यसले सजिलै रोजगारीको अवसर पनि दिएको बताउनुहुन्छ । देशको आर्थिक उन्नतिका लागि योग्य, सक्षम, प्रतिस्प्रर्धी र उत्पादनशील जनशक्ति तयार गर्न र सबैका लागि रोजगारी सिर्जना गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको विस्तार देशको आर्थिक विकासको प्रमुख आधार हो । देशको आर्थिक विकासगरी सवै नागरिकका लागि समावेशी एवं समतामूलक पहूँच स्थापित गर्ने प्रमुख उद्देश्यले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम नीति ,२०६९ निर्माण गरिएको छ । नेपालमा पछिल्लो समयमा प्राविधिक शिक्षाप्रतिको आकर्षण वढदै गइरहेको छ । दाङ जिल्लाको गढवामा सात वर्षदेखि गढवाको सरस्वती माध्यमिक विद्यालय गोबडिहामा प्राविधिक विषय बाली बिज्ञान अध्यापन हुन्छ । सो विद्यालयमा कक्षा ९ देखि १२ सम्म कृषि प्राविधिक पढाई हुने गरेको छ । कक्षा १० सम्म उत्तीर्ण विद्यार्थी जेटिए बन्छन् भने कक्षा १२ पास गर्नेहरु जेटिए इन्जिनियर बन्ने गाउपालिका अध्यक्ष सहजराम यादवले जानकारी गराउनुभयो । गाउँपालिकाको स्वीकृतिपछि यसै वर्षदेखि थप दुई विद्यालयमा प्राविधिक विषय अध्ययनको तयारी गरिएको उहाँले जानकारी दिनुभयो । यसअघि यहीँ उत्पादित जनशत्तिलाई स्थानीय तहमा काममा लगाउने उद्देश्यले प्राविधिक शिक्षालाई जोड दिइएको उहाँले बताउनुभयो ।

यस्तै तुलसीपुर उपमहानगरपालिकाले मेट्रो कलेज सञ्चालनमा ल्याएको छ । स्नातक तहसम्मको अध्यनका लागि पाँच वटा संकाय अध्ययन हुनेगरी तुलसीपुर बहुप्राविधिक शिक्षालय (तुलसीपुर मेट्रो कलेज) सञ्चालनमा ल्याइएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी गराउनुभयो । स्थानियस्तरमै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा जोड दिने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर बहुप्राविधिक शिक्षालय सञ्चालन गरेको उहाँले बताउनुभयो । स्थानीय सरकारले पनि कलेज सञ्चालनमा पहल गर्नसक्ने सन्देश दिन उपहानगरले मेट्रो कलेज सञ्चालनमा ल्याएको प्रमुख पान्डेले वताउनुभयो । कलेजको कम शुल्क राख्ने र तीनवर्षे कार्यक्रमअन्तरर्गत वन विज्ञान, कृषि विज्ञान, फूड एन्ड डेरी, मेकानिकल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ विषयको अध्यापन शुरु भएको उहाँले बताउनुभयो । शिक्षा विकास तथा समन्वय इकाइ दाङका प्रमुख विनोद गौतमले दाङमा पछिल्लो डेढ वर्षमा स्थापना भएका १९ वटा प्राविधिक विषय सरकारी र निजी विद्यालयमा पढाइ हुदै आएको जानकारी दिनुभयो । दाङ जिल्लामा थप छ वटा सामुदायिक विद्यालयले शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट यस वर्षदेखि प्राविधिक विषय पढाउन सम्वन्धन प्राप्त गरेको उहाँले वताउनुभयो । जिल्लामा प्राबिधिक विषय अध्यापन हुने संस्थाहरुमा सूचना प्रविधी, बालीविज्ञान, अटोमोवाइल, पशु विज्ञान, सिभिल, सर्भे इन्जिनियरिङ, डेरी एन्ड फूड विषयमा पठनपाठन भएको छ । रासस