
सरकारले राप्ती नदी नजिकै रहेको भालुवाङ बजारलाई प्रदेश ५ को राजधानी बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दाङमा राजधानी राख्ने सहमति जुटेलगत्तै प्रदेश ५ सरकारले राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेशको स्थायी राजधानी भालुवाङ बजारलाई बनाउने निर्णय गरेको हो ।
रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभमा मतभेद हुनाले प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सहमति जुटेलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङलाई राजधानी बनाउने निर्णय गरेको हो । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले दाङ राजधानी र नाम लुम्बिनी नामकारण गर्ने प्रस्ताव पारित गरिसकेको एक नेताले जानकारी दिए।