• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

कोरोना संक्रमणमा नेपालले उछिन्यो भारतलाई 



काठमाडौं – भारतले सेप्टेम्बर २८ मा ११ लाख ४२ हजार ८ सय ११ जनाको पीसीआर परीक्षण गरेको थियो। त्यसमा ७० हजार ५ सय ८९ जनामा पोजिटिभ पाइयो। यो ६.१७ प्रतिशत हो।

त्यही दिन नेपालमा १० हजार ८० जनाको परीक्षण गरिएको थियो। तीमध्ये १ हजार ३ सय ५१ जनाको पोजिटिभ रिपोर्ट आयो। त्यो १३.४० प्रतिशत हो।

केही यताको सरदर परिणाम दुवै देशको यस्तै छ। बुधबार १२ हजार २ सय ५ जनाको परीक्षण रिपोर्ट सार्वजनिक गरिएकामा १ हजार ५ सय ५९ जनामा पोजिटिभ पाइयो। यो १२.७७ प्रतिशत हो। त्यसअघि मंगलबार १४.०५ र आइतबार १५.५३ प्रतिशतमा संक्रमण पाइएको थियो।

स्वास्थ्य मन्त्रालयका विज्ञ डा. सुरेश तिवारीका अनुसार १२ प्रतिशतभन्दा माथिमा पोजिटिभ पाइएमा परीक्षण व्यापक विस्तार गरिनुपर्छ।

 

नेपालले उछिन्यो भारतलाई 

दक्षिणी छिमेकी मुलुक भारत धेरै संक्रमित भेटिएको विश्वकै दोस्रो राष्ट्र बनेको छ। अमेरिकापछि धेरै संक्रमित भेटिएको भारतमा हालसम्म ६२ लाख ४५ हजार ४ सय ४ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

पछिल्लो समय सक्रिय संक्रमण दर पनि भारतको भन्दा नेपालको उच्च छ। भारतमा सक्रिय केस १५ दशमलव ४ प्रतिशत छ। नेपालमा २६ दशमलव ८ प्रतिशत पुगेको छ।  भारतमा संक्रमितमध्ये ८३ प्रतिशत निको भएका छन् भने नेपालमा ७२ दशमलव ५ प्रतिशत निको भएका छन्।

नेपालमा हरेक दिनजसो १५ सयको हाराहारीमा नयाँ संक्रमित थपिने गरेका छन्। अहिले सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ पुगेको छ। जसमध्ये होम आइसोलेसनमा १० हजार ८ सय ४ जना छन्। संस्थागत आइसोलेसनमा १० हजार ८७ जना छन्। पछिल्लो चौबीस घण्टामा १ हजार ५ सय ५९ जना नयाँ संक्रमित थपिएका छन् भन्ने समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमद्वारा लेखिएको छ ।